• Menu

एचआरडी कोरिया, ईपीएस शाखा र कोरिया रिटर्नीबीच श्रम मन्त्रालयमा त्रिपक्षीय छलफल, अन्योलमा नपर्न आग्रह

कोरिया श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा हुन्छ : एचआरडी कोरिया

नेपाल प्रफिट

२०८१ वैशाख १२, बुधबार १८:३८

एचआरडी कोरिया, ईपीएस शाखा र कोरिया रिटर्नीबीच श्रम मन्त्रालयमा त्रिपक्षीय छलफल, अन्योलमा नपर्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संसाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा तीनै पक्षबीच मन्त्रालयमा छलफल भएको हो ।

छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र ईपीएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको जिज्ञासालाई एचआरडी कोरियाको परिक्षा शाखा निर्देशक साङह्युन क्वाकले स्पष्ट पारेका छन् ।

छलफलपछि श्रममन्त्री अर्यालले कोरिया रिटर्नीको जिज्ञासालाई स्पष्ट पारेकोमा एचआरडी कोरियाका प्रतिनिधिलाई धन्यवाद दिए । ‘एकपटक कोरिया पुगेर आउनुभएका नेपाली युवामा ईपीएस प्रक्रियाको विषयमा नै शंका थियो । उहाँहरुलाई एचआरडीले विभेद गरेको गुनासो छ । त्यसैले यो गुनासोलाई मेटाउन दुवै पक्षलाई आमनेसामने गराइएको हो । यो छलफलपछि दुबै पक्षको जिज्ञासा मेटियो भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्न श्रममन्त्री अर्यालले तीनै पक्षलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । श्रमिकको गुनासो सिधै सम्बन्धित निकायसमक्ष राख्न छलफल गराइएको श्रम सचिव घनश्याम उपाध्ययले बताए ।

छलफलमा कोरिया रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातामा नपुर्‍याएको, महिला श्रमिकलाई छनौट नगरेको लगायतका गुनासो गरेका थिए । त्यस्तै, नयाँलाई मात्रै प्राथमिता दिएको गुनासो गरेका थिए ।

कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्दै एचआरडी कोरियाको छनौट विभागका निर्देशक क्वाकले कोरिया जाने श्रमिकको छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने बताए । एचआरडी कोरियाले नेपाल र कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनौट गरी रोस्टरमा मात्रै राख्ने काम गर्छ ।

तर, श्रमिकको फाइल पठाउने वा श्रमिक छनौट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता नहुने स्पष्ट पारे । ‘हामीले अनलाइनमार्फत पारदर्शी रुपमा नै परीक्षा लिन्छौं, उत्तीर्ण भएका श्रमिकलाई रोस्टरमा सूचीकृत गर्छौं तर श्रमिकको छनौट रोजगारदाताले नै गर्छ,’ उनले भने ।

कोरियन रोजगारदाताले अनलाइनमार्फत नै श्रमिकको माग गर्छन् । रोजगारदाता र रोस्टरमा रहेका श्रमिकबीच समन्वय गर्ने काम कोरियास्थित जब सेन्टर गर्छ । जब सेन्टर कोरियाको श्रम मन्त्रालयअन्तर्गत पर्छ ।

रोजगारदाताले तोकेको मापदण्डअनुसार जब सेन्टरले श्रमिकको सूची पठाउँछ । जब सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनौट गर्ने उनले बताए । तर, जब सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनौटमा पर्छन् भन्ने निश्चित नहुने उनले बताए । ‘रोजगारदातालाई मन परेमा छनौट गर्न पनि सक्छ र नगर्न पनि सक्छ,’उनले भने ।

नेपाली युवामा श्रमिक छनौट गर्ने प्रक्रियाको विषयमा गलत सूचना फैलिएको प्रति उनले दु:ख व्यक्त गरे । ‘कोरियाका रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने हजारौंले आवेदन दिन्छन् तर रोजगारदाताले आफूले चाहेको एक जनामात्रै छनौट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोस्टरमा रहेका हजारौं श्रमिकमध्ये केहीलाई मात्रै छनौट गर्छ,’ उनले भने ।

त्यस्तै, कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमानदार र मिजासिला हुन्छन् भन्ने विश्वास छ, त्यसैले कोरिया र नेपाल बिचको सुमुधुर सम्बन्धलाई यथावत राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे ।

सन् २०२३ मा नेपालबाट करिब १९ हजार ६८९ नेपाली  श्रमिक कोरिया पुगेका छन् । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको कोरियाले पुरस्कृत पनि गरेको थियो ।

कोरिया र नेपालबीच ईपीएसमार्फत कोरिया रोजगारीका लागि सन् २००७ मा सम्झौता भएको हो । सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक ईपिएसमार्फत कोरिया पुगेका थिए ।

कोरियाले सन् २०२३ सम्ममा कृषि तथा पशुपालन तथा उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा अहिले सिप विल्डिङ क्षेत्रमा पनि लैजान थालेको छ ।

श्रमिक छनौटको प्रक्रिया के छ ?

कोरिया सरकारले ईपीएस (रोजगार अनुमती प्रणाली) मार्फत विश्वका विभिन्न १६ मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्राउँदै आएको छ । आप्रवासी श्रमिक छनौटका लागि कोरियाले एचआरडी कोरियालाई जिम्मेवारी दिएको छ । एचआरडीको मुख्यालय कोरियामा छ भने यसले नेपालमा ईपीएस सेन्टर भनेर कार्यालय खोलेको छ ।

एचआरडी कोरियाको मागअनुसार वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनौट प्रक्रिया एचआरडी कोरिया ईपीएस सेन्टरले गर्छ ।

कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परीक्षा लिन्छन् । तत्काल रिजल्ट निकाल्छन् । परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई ईपीएस शाखाबाट रोजागरीको लागि फराम भराएर विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठीक भएपछि एप्रुभ गरी रोस्टरमा सूचीकृत गरिन्छ ।

त्यस्तै, कोरियाको रोजगारदातालाई श्रमिकको आवश्यकता परेमा अनलाइनमार्फत जब सेन्टरमा श्रमिकको माग गर्छन् । जब सेन्टरले रोजगारदाताले तोकेको मापदण्ड पुगेका श्रमिकको सूची पठाउँछन् ।

यसरी जब सेन्टरले श्रमिकको सूची पठाउँदा तीन गुणा बढी बढाउँछ । जस्तै, कुनै रोजगारदाताले १०० जना श्रमिक माग गरेमा जब सेन्टरले ३०० जनाको सूची पठाउँछ ।

यसरी जब सेन्टरले पठाएको सूचीबाट रोजगारदाताले श्रमिक छनौट गर्छन् । श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा नै हुन्छ । यसमा कुनै पनि निकाय वा व्यक्तिको संलग्नता नहुने ईपीएस सेन्टर र ईपीएस शाखाको दाबी छ ।

त्यस्तै, नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको मागभन्दा तीन गुणा बढी रोस्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । तर, कोरियाले गत फेब्रुअरीदेखि नयाँ व्यवस्था गरेको छ । रोस्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्याबराबरको मात्रै भाषा परीक्षाका लागि आवेदन लिनुपर्ने व्यवस्था गरेको छ ।

हालसम्म कति गए कोरिया

१५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ ।

सन् २००८ मा दुई हजार ८१४ नेपाली श्रमिक कोरिया गएका थिए । सन् २००९ मा एक हजार ९११, सन् २०१० मा दुई हजार ३३९, सन् २०११ मा तीन हजार ९८३, सन् २०१२ मा ६ हजार ३३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८६६ कोरिया गएको तथ्यांक छ ।

त्यस्तै, सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८००, सन् २०१८ मा ८ हजार ५११, सन् २०१९ मा सात हजार १३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३८७, सन् २०२२ मा १४ हजार ३११, सन् २०१३ मा १९ हजार ६८९ नेपाली युवा कोरिया गएका छन् ।

प्रतिक्रिया दिनुहोस्