• Menu

नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना, लगानी वृद्धि र व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास

नेपाल प्रफिट

२०८१ वैशाख १२, बुधबार १५:५९

नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना, लगानी वृद्धि र व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार सम्झौता भएको हो ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष र कतार चेम्बरका अध्यक्षले सम्झौतामा हस्ताक्षर गरेका छन् । परिषदले व्यापार विस्तार, लगानी प्रवर्धन, प्रविधि हस्तान्तरण र पर्यटन प्रवर्धनका क्षेत्रमा काम गर्नेछ ।

तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषदको उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरुको रोजगारीको मुख्य गन्तव्य कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिबुटी, मसला र मसलाजन्य वस्तुलगायतको अत्यधिक माग छ ।

तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरी पर्यटन प्रवर्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ ।

परिषद स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्षले भने ।

यसैगरी, महासंघ अध्यक्ष ढकालले परिषदमार्फत थप सहकार्यका लागि काम गरिने बताए । ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ उनले भने, ‘ नेपालको जलविद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन पनि सहज हुनेछ ।’

यसैगरी महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे ।

उक्त सम्झौता पनि कतारका अमिर थानी र नेपालका प्रधानमन्त्री दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन् २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवर्धनमा विविध सहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्