• Menu

लगानी प्रवर्धनार्थ भएको कानुनी सुधारको उद्योग वाणिज्य महासंघले गर्‍यो स्वागत

नेपाल प्रफिट

२०८१ वैशाख ११, मंगलबार २०:१८

लगानी प्रवर्धनार्थ भएको कानुनी सुधारको उद्योग वाणिज्य महासंघले गर्‍यो स्वागत

काठमाडौं । तेस्रो लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्धनका लागि अध्यादेशमार्फत गरेको १२ वटा ऐन तथा नियमावली संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी कानुन सुधारको स्वागत गरेको हो ।

‘कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी सरकारले निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमिसम्बन्धी ऐनलगायतका कानुन संसोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदबन्दीलगायतका विषयलाई सम्बोधन गरेको महासंघले जनाएको छ ।

महासंघको पहलमा नियमावली बनाएर स्टार्ट अपको परिभाषा दिने विषय पनि यसपटकको केही नेपाल ऐन संसोधनमा परेकोमा महासंघले खुसी व्यक्त गरेको छ । यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन सकिएको थिएन । ‘महासंघले नै नियमावलीमार्पmत परिभाषा खोजे पनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुझावअनुरुप ऐन नियममा संसोधन भएको हो, जसमा महासंघको सक्रिय सहभागिता थियो ।

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघको विश्वास छ । यसैगरी, संसोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशा व्यक्त गरेको छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थानविन्दु भएको महासंघको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्