• Menu

लगानी बोर्ड बैठक

ह्वासिन नारायणी सिमेन्टका लागि ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, ९ अर्ब ६८ करोड लगानी थप्दै डाबर नेपाल

नेपाल प्रफिट

२०८१ वैशाख ११, मंगलबार १७:४३

ह्वासिन नारायणी सिमेन्टका लागि ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, ९ अर्ब ६८ करोड लगानी थप्दै डाबर नेपाल

काठमाडौं । लगानी बोर्ड नेपालले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मंगलबार बसेको ५८औं बैठकले ह्वासिनको थप लगानी प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेअनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

बैठकले वैशाख १६-१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची स्वीकृति गरेको छ । लगानी बोर्डले लगानी सम्मेलनमा सोकेस गर्न १४८ वटा परियोजना तयार गरेको छ ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयन अवस्था एवं नजिकिँदै गरेको लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले तेस्रो लगानी सम्मेलन औपचारिकतामा सीमित हुन नहुने बताएका छन् । ‘प्रस्तुत गरिने परियोजनाहरू इच्छासूचीको रुपमा मात्र रहनु हुँदैन,’ उनले भने, ‘लगानी सम्मेलनलाई नतिजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपुँजी तथा ऋण परिचालनलाई सहजीकरण गर्न मन्त्रालयहरूले विशेष इकाइ नै बनाउनुस् ।’

सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने प्रधानमन्त्रीले बताए । ‘निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच,  पुरातन नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधन कार्य अगाडि बढाएको हो,’ उनले भने ।

बैठकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री घुवीर महासेठ, उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, लगानी बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह पनि उपस्थित थिए ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्ड सदस्यहरु भवानी राणा र राजेशकाजी श्रेष्ठ तथा तथा नेपाल सरकारका सचिवहरु सहभागी थिए ।

बैठकमा लगानी सम्मेलनका सहआयोजकको रुपमा रहेका निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सबाट कमलेशकुमार अग्रवाललाई आमन्त्रित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्