• Menu

नेपाल उद्योग वाणिज्य महासंघ र रुसी उद्योग वाणिज्य संघबीच भेटवार्ता

नेपालमा लगानीको अपार अवसर छ : ढकाल, लगानी गर्न हामी इच्छुक छौं : सर्गेई

नेपाल प्रफिट

२०८१ वैशाख ११, मंगलबार १७:०५

नेपालमा लगानीको अपार अवसर छ : ढकाल, लगानी गर्न हामी इच्छुक छौं : सर्गेई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले यस्तो बताएका हुन् ।

रुसी चेम्बरको प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष सर्गेई कातरिनले गरेका छन् । भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी चेम्बरबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए ।

ढकालले मंगलबारको भेटले नेपाल र रुसबीचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवर्धन गर्न मद्दत पुग्ने विचार राखे । उनले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे ।

ढकालले नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत संघले नेपाललाई महत्वपूर्ण आर्थिक र विकास सहयोग पुर्‍याएको तथा नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताए ।

उनले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । साथै, यस सहकार्यले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन र सेवा रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उनले विश्वास गरे ।

यसैबीच, ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिए । उनले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको बताए ।

ढकालले यो बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीलाई आग्रह गरे । उनले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरु पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्रमात्रै रहेको बताए ।

ढकालले वैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिए ।

यसैबीच, अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी संघको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई कातरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने विश्वास दिलाए । उनले रुस ठूलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रुसमा निर्यात गर्न सहयोग गर्ने जानकारी गराए ।

कार्यक्रममा सेन्ट-पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्