काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीचको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल भएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरे ।
‘व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,’ उनले भने, ‘नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।’
नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए ।
नयाँ परिस्थितिमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ रसियन फेडेरेसनका अध्यक्ष सर्गेयी कटिरिन, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिती थियो ।