• Menu

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऊँ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख १०, सोमबार १६:०७

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऊँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलहरुले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा उनले सबै राजनीतिक दलहरू एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्ने बताए ।

‘हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका छौँ तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

दलहरुले समझदारी गर्दा ठूल्ठूला उपलब्धि हासिल भएको तर विमतितिर र एक–अर्काप्रति विद्वेषतर्फ जाँदा नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भएको उनले बताए । ‘त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीति दललाई अपिल गर्छु,’ उनले भने ।

विभिन्न कम्युनिस्ट धारको प्रतिनिधित्व गर्ने कम्युनिस्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताए ।

‘सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ,’ उनले भने, ‘समानुपातिक एवं समावेशी मान्यतासहितको संघीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसविरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको बताए । उनले सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्नका लागि पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिए ।

सबै राजनीतिक दलले एक–अर्का राजनीति दलका योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमी–कमजोरी हटाएर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमी–कमजोरीको पनि समीक्षा गरौँ,’ उनले भने, ‘आगामी दिनमा अझ उन्नत विचारको विकास गर्ने र जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने संकल्प गरौँ ।’

प्रतिक्रिया दिनुहोस्