• Menu

राष्ट्रसंघीय सहायक महासचिवसहित यूएनडीपीका ३५ देशका प्रतिनिधि नेपाल आउँदै

नेपाल प्रफिट

२०८१ वैशाख १०, सोमबार १५:४६

राष्ट्रसंघीय सहायक महासचिवसहित यूएनडीपीका ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु वैशाख १७ मा काठमाडौं आइपुग्ने छन् ।

यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयसानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँगको शिष्टाचार भेटमा उक्त जानकारी दिएकी हुन् । त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौँमा बस्नेछ ।

यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो । यसअघि उक्त बैठक थाइल्यान्डको राजधानी बैंककमा बस्ने गरेको थियो । बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउने छिन् ।

त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

यस्तै विग्नाराजासहितको टोली हेलिकप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जानेछ । त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ । यूएनडीपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त जोखिम घटाएको थियो ।

तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि यूएनडीपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो । यस्तै यूएनडीपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा फुट्न सक्ने जोखिम पनि घटाएको थियो ।

आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताइन् । भेटमा लाबेले यूएनडीपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे मन्त्री पुनलाई अवगत गराइन् ।

यस्तै उनले ग्लोबल ग्रिन क्लाइमेट फन्डको कार्यक्रम नेपालमा लागू गर्न लागेको विषयमा समेत जानकारी दिइन् ।  आगामी दिनमा यूएनडीपीले नेपालमा गर्ने कामलाई सरकारसँग जोड्न चाहेको उनको भनाइ छ ।

त्यस क्रममा मन्त्री पुनले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक नेपालमा गर्न लागेकोमा धन्यवाद दिए । सन् १९६३ मा कार्यालय स्थापना गरेयता यूएनडीपीले नेपालको विकासमा गरेको सहयोगका लागि पनि मन्त्री पुनले सराहना गरे । आगामी दिनमा पनि सहकार्य हुने विश्वास उनको थियो ।

प्रतिक्रिया दिनुहोस्