• Menu

कांग्रेस बाहिरिएपछि देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : डा. महत

नेपाल प्रफिट

२०८१ वैशाख १०, सोमबार १५:०५

कांग्रेस बाहिरिएपछि देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : डा. महत

सुनसरी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले सोमबार इटहरीमा गरेको अन्तर्क्रियामा पूर्वअर्थमन्त्री डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सिर्जना भएको र वर्तमान सरकारको आयु पनि छोटिँदै गएको बताए ।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे छलफलसमेत नभएको स्पष्ट पारे । ‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् । कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिँदैछ ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे । अस्थिरताका कारण अन्तराष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको उनले अड्कल गरे ।

उनले आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको बताए । महतले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भए पनि अहिले अर्थतन्त्र चलायमान हुन नसकेको टिप्पणी गरे ।

सरकारले प्राथमिकताको क्षेत्रमा लगानी गर्नुपर्ने भए पनि जथाभावी बजेटको दुरुपयोग गरिहेको उनको आरोप छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको उनले बताए ।

‘सहकारी ठगीबाट बचतकर्ता मर्कामा परेको र स्वयं गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैरकानुनीको विषय छर्लङ्गै भइसकेको छ । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौँ, जनतामाझ स्पष्ट छ ।’

यसैबीच, वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम-२ मा कांग्रेसले जित्ने उनको दाबी छ । यसअघिकै उम्मेदवार दोहोरिएको र मानिसको दुःखसुखमा डम्बर खड्काले सहयोग गरेकाले उनैको जित निश्चित रहेको महतको दाबी छ ।

‘उहाँ यसअघि पनि झिनो मतले पराजित हुनुभएको र त्यस क्षेत्रका जनताको दुःखसुखको साथी भएका कारण कांग्रेसले चुनाव जित्ने निश्चित छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्