• Menu

एसियन हाइवे निर्माणले पायो तीव्रता, बन्नेछन् १४० कल्भर्ट र २१ वटा पुल

नेपाल प्रफिट

२०८१ वैशाख ९, आइतबार २१:३९

एसियन हाइवे निर्माणले पायो तीव्रता, बन्नेछन् १४० कल्भर्ट र २१ वटा पुल

झापा । पूर्व-पश्चिम एसियन हाइवेअन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा-सीतापुरी पूर्वीखण्डको ४५ किलोमिटर क्षेत्रमा धमाधम काम भइरहेको जानकारी दिए ।

उनका अनुसार हाल कमल र केरखा खोलामा पुलको पायल फाउन्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्भर्ट बनाउने काम धमाधम भइरहेको छ । सडक किनारमा रहेका चार हजार ७३० रुखमध्ये तीन हजार ६ सय रुखसमेत कटान गरिसकिएको छ ।

दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गको सो सडक खण्डमा १४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने जानकारी दिए ।

एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा-सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी-मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वीखण्डको ठेक्का पाएको एभ्रासकन कालिका जेभीले तीव्र रुपमा काम गरिरहेको छ ।

‘काम तीव्र रुपमा भइरहेको छ,’ उनले भने, ‘रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्भर्टको काम पनि द्रुतगतिमा भइरहेको छ ।’

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केरखासम्मको सडक करिब १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताए ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने तथा पूर्वी नाकाबाट स्थल मार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने विश्वास छ ।

एसियन हाइवेमा पर्ने ठूला-साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी उनले दिए । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ ।

काँकरभिट्टा-लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्