• Menu

सुनकोसी-मरिण डाइभर्सनको सुरूङ निर्माण अन्तिम चरणमा, ब्रेक थ्रु हुन ११० मिटरमात्र बाँकी

रासस

२०८१ वैशाख ८, शनिबार २०:५३

सुनकोसी-मरिण डाइभर्सनको सुरूङ निर्माण अन्तिम चरणमा, ब्रेक थ्रु हुन ११० मिटरमात्र बाँकी

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी-मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटरमात्रै बाँकी छ ।

तराई-मधेसका जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ ।

कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३.१९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु भएको घोषणा गर्नेछन् । त्यसका लागि तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ,’ आयोजना प्रमुख मित्र बरालले भने ।

‘सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको छ,’ उनले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।’

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टीबीएम मेसिन प्रयोग गरिएको हो ।

उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ ।

निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो ।

प्रधानमन्त्री दाहालले नियमित रुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ ।

आयोजना प्रमुख बरालका अनुसार २०७९ असोज २८ देखि निर्माण सुरु गरिएको सो आयोजनामा १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो ।

यसअघि भेरी-बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टीबीएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन ।

बाँध तथा विद्युत गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई ९ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

आगामी बर्खााअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

आयोजनाबाट तराई-मधेसका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका-७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भेरी-बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ ।

आयोजनामा प्रयोग भएको टीबीएम उपकरण प्रयोग गरी फुर्कोट-फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टीबीएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्