• Menu

सडक सहज बनेपछि मुस्ताङ जानेको लर्को, गत वर्ष सडक मार्गबाटै पुगे चार लाख पर्यटक

नेपाल प्रफिट

२०८१ वैशाख ७, शुक्रबार १३:३६

सडक सहज बनेपछि मुस्ताङ जानेको लर्को, गत वर्ष सडक मार्गबाटै पुगे चार लाख पर्यटक

म्याग्दी । २०८० वैशाख १ देखि चैत ३० सम्ममा सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी-मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरी चौकीका अनुसार गत वर्षको वैशाख १ देखि चैत मसान्तसम्म चार लाख १४ हजार २८० आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या तीन लाख ३५ हजार ४६६ छ । तीमध्ये दुई लाख २० हजार ७२४ जना पुरुष छन् भने महिलाको संख्या एक लाख १४ हजार ७४२ छ ।

२०८० मा ७८ हजार ८१४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्ये ७२ हजार ७५६ जना सार्क राष्ट्रभित्रका हुन् भने ६ हजार ५८ जना सार्क राष्ट्रबाहिरका रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार सार्क राष्ट्रबाट ३८ हजार ८२१ पुरुष र ३३ हजार ९३५ महिला छन् ।

सार्क राष्ट्र बाहिरबाट तीन हजार ६४८ पुरुष र दुई हजार ४१० महिला मुस्ताङ पुगेको प्रहरीको तथ्यांकबाट देखिएको छ । सोही अवधिमा हवाइमार्गबाट ११ हजार ४८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्ये एक हजार १३४ पुरुष र ५४५ महिला गरी एक हजार ६७९ आन्तरिक पर्यटक हुन् ।

सार्क राष्ट्रबाट तीन हजार ७६७ पुरुष र चार हजार २८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट ८८६ पुरुष र ८६४ महिला गरी एक हजार ७५० पर्यटक मुस्ताङ भित्रिएका तथ्यांकले देखाएको छ ।

सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पर्यटकको संख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताए । उनका अनुसार आन्तरिक पर्यटकको रोजाइमा पनि मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ ।

सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो ।

मुस्ताङ आफैंमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल छन् । मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन् ।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्छ । यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो ।

यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्छन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन् ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्छ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानीसमेत पर्छ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्र पर्छन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ ।

उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतबीच हुने व्यापारको राजस्व संकलन गर्ने नेचुङ–लिची भन्सार कार्यालयसमेत छ । छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा छन् ।

सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार ९४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिए । सन् २०२३ मा ७८ हजार ८१४ जना बाह्य पर्यटक भित्रिएका छन् ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्छन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै १०८ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् ।

साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । मुस्ताङमा विदेशीभन्दा पनि स्वदेशी पर्यटकको आगमन बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्छन् । नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् ।

मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटक खासगरी म्याग्दीको बेनी हुँदै सवारी साधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटक ट्रेकिङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाई मार्गबाट पनि पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्