काठमाडौं । ग्लोबल आइएमई बैंक र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई सहज रुपमा शैक्षिक कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र हब इन्टरनेसनल एजुकेसनका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकले हब इन्टरनेसनल एजुकेसन प्रालिले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहज रुपमा प्रवाह गर्नेछ ।
हब इन्टरनेसनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित शाखा कार्यालयमा निवेदन दिएपछि छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन् ।
ग्लोबल आइएमई बैंक सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।