• Menu

एनएमबी बैंकले आयोजना गर्‍यो सम्पदा प्रवर्धन लक्षित हेरिटेज वाक, सातै प्रदेशमा कार्यक्रम

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार २०:५९

एनएमबी बैंकले आयोजना गर्‍यो सम्पदा प्रवर्धन लक्षित हेरिटेज वाक, सातै प्रदेशमा कार्यक्रम

काठमाडौं । एनएमबी बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बुधबार बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरको उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा हेरिटेज वाक गरेको हो ।

बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने नाराका साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ ।

नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजति कार्यक्रममा बैंकका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कटवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरीषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिकाका प्रतिनिधि, बैंकका कर्मचारीलगायत ७५० जनाको सहभागिता थियो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैयाँ सहयोगका साथै कीर्तिपुर महानगरपालिकालाई डस्टबिनहरुसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले कोशी प्रदेशमा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेश प्रदेशमा जनकपुर शाखादेखि राम मन्दिरसम्म र चितवनमा भरतपुर शाखादेखि गणेश धामसम्म हेरिटेज वाक गरेको छ ।

गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोल पार्कदेखि सिद्धबाबा मन्दिरसम्म, कर्णाली प्रदेशमा सुर्खेत शाखादेखि काँक्रे विहारसम्म र सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म एकसाथ एघारौँ हेरिटेज वाक कार्यक्रम गरेको छ ।

बैंकले देशभरका २०१ शाखा, १८६ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।