• Menu

वर्षमान पुन अर्थमन्त्री भएयता २६ दिन सेयर कारोबार, १७ दिन घट्यो नेप्से परिसूचक

नेपाल प्रफिट

२०८१ वैशाख ४, मंगलबार २१:२६

वर्षमान पुन अर्थमन्त्री भएयता २६ दिन सेयर कारोबार, १७ दिन घट्यो नेप्से परिसूचक

काठमाडौं । वर्षमान पुन अर्थमन्त्री भएयता नेपाल स्टक एक्सचेन्जमा २६ दिन कारोबार हुँदा १७ दिन परिसूचक घटेको छ ।

फागुन २३ गते अर्थमन्त्री नियुक्त भएका पुनले सोही दिन नै पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए । त्यसयता वैशाख ४ सम्ममा २६ दिन कारोबार हुँदा नेप्से परिसूचक ९ दिनमात्र बढेको छ ।

उनी अर्थमन्त्री नियुक्त भएको दिन फागुन २३ गते ९.३३ अंक, फागुन २४ गते १३.५१, फागुन २७ गते २२.१० र २९ गते ५८.५५ अंकले बजार बढ्यो । लगातार चार दिनमा २००७.६९ अंकबाट १०३.५२ अंकले बजार उकालो लागेर २१११.२१ अंकमा उक्लिएको थियो ।

सेयर बजारले अर्थमन्त्री पुनलाई ‘ग्रिन सिग्नल’ दिएको टिप्पणी भयो । तर, त्यसपछि बजारले लय समात्न सकेन । त्यसपछिका २२ कारोबार दिनमा बजार पाँच दिनमात्र बढेको छ । चैत ५ गते, १३ गते, १५ गते, २५ गते र २७ गते बजार बढेको छ भने बाँकी सबै दिन घटेको छ ।

फागुन २३ गते पुन मन्त्री नियुक्त भएको दिन वैशाख ४ लाई तुलना गर्दा परिसूचकमा ठूलो गिरावट भने आएको छैन । फागुन २३ गते २००७.६९ अंकमा रहेको नेप्से मंगलबार (वैशाख ४) गते १९९१.७१ अंकमा झरेको छ । यो भने १५.९८ अंकको मात्र ह्रास हो ।

पुन अर्थमन्त्री भएपछि लगातार चार दिन बजार बढ्यो । त्यसपछि लगातार तीन दिन घट्यो । त्यसपछि एक दिन बढ्यो र फेरि चार दिन घट्यो । त्यसपछि एक दिन बढ्यो, एक दिन घट्यो, फेरि एक दिन बढ्यो ।

त्यसपछि लगातार पाँच दिन घट्यो र दुई दिन बढ्यो । पछिल्ला चार दिन बजार लगातार ओरालो लागेको छ । चार दिनमा ४४.३ अंकले बजार घटेको छ । समग्रमा २६ कारोबारमा सेयर बजारमा ११८ अंकको उतारचढाव आएको छ । मंगलबार सेयर बजार १४.८१ अंकले घटेको छ ।

नेप्से परिसूचक ओरालो लाग्दा लगानीकर्ताले पनि करिब साढे १२ अर्ब रुपैयाँ गुमाएका छन् । फागुन २३ गते ३१ खर्ब ७० अर्ब ५० करोड रहेको कुल बजार पुँजीकरण वैशाख ४ गते ३१ खर्ब ५८ अर्ब १० करोडमा झरेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल सम्पत्ति यसबीचमा १२ अर्ब ४० करोड रुपैयाँ घटेको छ ।

लगानीकर्ताले भने मौद्रिक नीतिमा केही लचकता अपनाएमात्र बजारले गति लिने विश्वास गरेका छन् । तर, ब्याजदर घट्दा पनि बढ्न नसकेको बजार अर्थतन्त्रमा बढ्दो अन्योलको सिकार बनेको टिप्पणी पनि भइरहेको छ ।

अर्थतन्त्र चलायमान हुन नसकेको परिप्रेक्ष्यमा नेप्सेमा सूचीकृत कम्पनीहरुले राम्रो प्रतिफल दिने अपेक्षा गर्न नसकिने भएकाले लगानीकर्ता उत्साहित हुन नसकेको बताइन्छ । अहिले नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको व्यवसायसँगै नाफा घटेको स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्