• Menu

धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्धनमा जुट्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल प्रफिट

२०८१ वैशाख ४, १६:३५

धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्धनमा जुट्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्धनमा जुट्न आग्रह गरेका छन् ।

बागलुङको कालिका मन्दिरमा आयोजित चैत्राष्टमी मेलामा मंगलबार उनले गण्डक क्षेत्रमा रहेका धार्मिक स्थलमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् ।

‘हिन्दू धर्मावलम्बीका लागि बागलुङ कालिका पुग्नैपर्ने गन्तव्य हो,’ उनले भने, ‘पञ्चकोटलगायतका थप गन्तव्य लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्छ ।’

पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृत रुपमा प्रवर्धन गर्न सकिने अध्यक्ष ढकालले बताए ।

कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरल्ला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।

काठमाडौंमा चन्द्रागिरिको भालेश्वर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्या देवी, सुदूरपश्चिमको कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरा देवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसंग उनले जोडे ।

अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रवर्धनमा सबै क्षेत्रको सहयोग भए पर्यटनमार्फत समृद्धि र रोजगारी सिर्जनामा ठूलो काम गर्न सकिने विश्वास व्यक्त गरे ।