काठमाडौं । वाइवाइ चाउचाउलाई विश्वभर फैलाउने योजनामा रहेको चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी फुड्स नेपालले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी फुड्स आईपीओ जारी गर्ने योजनासहित काम अघि बढेको बताएका हुन् ।
‘तपाईंहरुको लोकप्रिय चाउचाउ वाइवाइको आईपीओ जारी गर्न लागेको खबर सुनाउन पाउँदा हामी एकदमै हर्षित र उत्साहित छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सन् २०२६ भित्र वाइवाइको आईपीओ निष्कासनको तयारी गरिरहेको उनले जानकारी दिए । ‘हामी २०२६ भित्र आईपीओ निष्कासनको तयारीमा छौं,’ नेपाल प्रफिटसँग उनले भने, ‘अहिले प्रारम्भिक चरणमा छौं ।’ नेपालमा वाइवाइले सन् १९८४ देखि उत्पादन तथा बिक्री सुरु गरेको हो ।
चौधरी ग्रुपका प्रमुख अर्बपति उद्योगी एवं सांसद विनोद चौधरीले केही सार्वजनिक कार्यक्रमहरुमा पनि वाइवाइ चाउचाउले आईपीओ निष्कासन गर्ने बताउँदै आएका छन् । उनले यो कम्पनीलाई न्युयोर्कको स्टक एक्सचेन्जमा सूचीकृत गर्न चाहेको र त्यसमा नेपाली सहभागी भएको हेर्ने अपेक्षा रहेको बताउने गरेका छन् ।
वाइवाइ अहिले दैनिक १५ लाख प्याकेटभन्दा बढी वाइवाइ विभिन्न स्वादमा उत्पादन गर्दै आएको छ । आईपीओ जारी गर्न कम्पनीलाई पहिले पब्लिक लिमिटेडमा लैजानुपर्ने हुन्छ । त्यसका लागि तयारी सुरू भइसकेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।
कम्पनीमा निर्वाण चौधरीको ७६ प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै एम एस एपोलो इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत स्वामित्व छ ।