• Menu

सेयरको इन्साइडर ट्रेडिङमा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार

नेपाल प्रफिट

२०८१ वैशाख ३, सोमबार २०:२३

सेयरको इन्साइडर ट्रेडिङमा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार

काठमाडौं । धितोपत्र बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ), जालसाजी, झुटो वा कृत्रिम कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने गरी ऐन संशोधन भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ मा रहेको ‘तहकिकात गर्दा तोकिएको अधिकारीले तहकिकातको’ भन्ने शब्दहरुमो सट्टा ‘यस ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले अनुसन्धानको’ भन्ने शब्दहरु राखिएका छन् ।

यो ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारी भन्नाले प्रहरीलाई बुझाउँछ । ऐन राजपत्रमा प्रकाशित भइसकेको छ ।

ऐनमा सेयरको भित्री कारोबार, जालसाजी, कृत्रिम वा झुटो कारोबार गरी मूल्य उतारचढाव वा स्थिर गराएमा, मिलेमतोमा कारोबार गर्ने गराउने गरेमा, झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा वा कसैलाई झुक्यानमा पारेमा त्यस्ता उजुरीको अनुसन्धान प्रहरीले गर्ने व्यवस्था छ । ।

धितोपत्र बोर्डको अधिकृतस्तरको कर्मचारीमार्फत त्यस्ता प्रकारका उजुरीको प्रारम्भिक जाँचबुझ गराउने र कसुर गरेको देखिएमा प्रहरीमार्फत अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था ऐनले गरेको छ ।

यसअघि यस्ता कसुरसम्बन्धी जानकारी बोर्डमा परेमा र बोर्ड विश्वस्त भएमा त्यस्ता कसुरसम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले अधिकारी तोक्ने र ती अधिकारीले तहकिकात गरी काम पूरा भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्ने कानुनी व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्