काठमाडौं । नेपालका वाणिज्य बैंकले सम्पत्ति धितो लिएर करिब ८९ प्रतिशत कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सुपरभिजन रिपोर्टअनुसार वाणिज्य बैंकहरुले सन् २०२३ सम्ममा सम्पत्ति धितो लिएर कुल कर्जाको ८८.७५ प्रतिशत कर्जा प्रवाह गरेका हुन् ।
सन् २०२२ सम्म सम्पत्ति धितो लिएर प्रवाहित कर्जाको हिस्सा ८७.९९ र सन् २०२१ सम्म ८७.९७ प्रतिशत थियो । त्यस्तै सुनचाँदी धितो राखेर १.१७, सरकारी धितोपत्र धितो राखेर ०.०७ र गैरसरकारी धितोपत्र धितो राखेर १ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुले सबैभन्दा धेरै कुल कर्जाको ३२.१९ प्रतिशत टर्म लोन दिएका छन् । त्यस्तै चालु पुँजी कर्जा १९.६८ प्रतिशत प्रवाह गरेका छन् । चालु पुँजी कर्जाको हिस्सा तीन वर्षयता कम भएको छ ।
सन् २०२१ मा चालु पुँजी कर्जाको हिस्सा २३.०४ प्रतिशत रहेकोमा सन् २०२२ मा २३.७ प्रतिशत थियो । सन् २०२३ मा बैंकहरुले प्रवाह गरेको क्यास क्रेडिट हिस्सा कुल कर्जाको ११.४४ प्रतिशत छ । त्यसअघि क्यास क्रेडिट प्रवाह भएको थिएन ।
त्यस्तै ओभर ड्राफ्ट कुल कर्जाको ३.८ प्रतिशत, इम्पोर्ट लोन १.७ प्रतिशत, होम लोन ६.४७ प्रतिशत, रियल इस्टेट लोन ५.०५ प्रतिशत, मार्जिन नेचर लोन १.३६ प्रतिशत र हायर पर्चेज लोन ३.२ प्रतिशत प्रवाह गरेका छन् ।
सन् २०२३ मा कर्जा-निक्षेप अनुपात ८३ प्रतिशत तथा खुद तरलता २९.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कर्जामा भारित औसत ब्याजदर १२.३ प्रतिशत र निक्षेपमा ७.८६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
सन् २०२३ सम्ममा वाणिज्य बैंकहरुमा निक्षेप ५३ खर्ब ३० अर्ब थियो भने कर्जा प्रवाह ४४ खर्ब २४ अर्ब रुपैयाँ थियो ।