• Menu

सुदूरपश्चिममा ५ अर्ब लगानीमा जालपादेवी केबलकार निर्माण अघि बढ्यो, महासंघ अध्यक्ष ढकालले गरे शुभारम्भ

नेपाल प्रफिट

२०८१ वैशाख ३, सोमबार ०८:३५

सुदूरपश्चिममा ५ अर्ब लगानीमा जालपादेवी केबलकार निर्माण अघि बढ्यो, महासंघ अध्यक्ष ढकालले गरे शुभारम्भ

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्मको जालपादेवी केबलकार आयोजना निर्माणको पहिलो चरणको काम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कैलालीको चिसापानीस्थित आयोजनाको निर्माण स्थलमा पूजापाठ गरेर निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ केबलकार निर्माण अघि बढेको बताए । कर्णाली नदीको चिसापानी पुलनजिकै रहेको आयोजना स्थलबाट कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिका देवी, कैलाशधामलगायतका धार्मिक स्थल, हात्ती ढुंगालगायत पर्यटकीय स्थलको अवलोकनका गर्न सकिन्छ ।

‘आठ वर्षको निरन्तरको प्रयासपछि निर्माण कार्य सुरु गर्ने अवस्थमा आइपुगेका छौं,’ उनले भने, ‘दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरिएको छ ।’

प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ आईएमई समूहले सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारको रुपमा चिनिने कर्णाली चिसापानीमा केबलकार निर्माण सुरु गरेको हो ।

‘केबलकार कम्पनीको आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने छौं,’ अध्यक्ष ढकालले भने, ‘केबलकार निर्माणपछि पर्यटन प्रवर्धन र रोजगारीका अवसर सिर्जना भई स्थानीय बासिन्दा थप लाभान्वित हुनेछन ।’

करिब ५ अर्बको लगानीमा निर्माण सुरु हुन लागेको केबलकारको लम्बाइ ३.१ किलोमिटर छ । केबलुकारमा १५ वटा टावर तथा आठ यात्रु क्षमताका ३४ वटा गोन्डाला रहनेछन् । यात्रा अवधि करिब १० मिनेट रहने केबलकारको क्षमता दैनिक ६ हजार जना रहेको छ ।

केबुलकार निर्माणका लागि आवश्यक पर्ने उपकरण अस्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माण कार्यसँगै चिसापानीमा ५० कोठा क्षमता र राजकाँडामा एक सय कोठा क्षमताका होटल र सभाहल निर्माण गर्ने आईएमई समूहको तयारी छ ।

आयोजना स्थलमा पर्ने रुख काटेर निर्माण कार्य सुरु गरिएको हो । आयोजना स्थलमा  १८ सय ६६ वटा रुख छन् । केबलकार सञ्चालनका लागि एक सय बिघा क्षेत्रफल जग्गा कम्पनीको नाममा नामसारी भइसकेको छ ।

चिसापानी-राजकाँडा केवलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गर्ने योजना कम्पनीको छ । आयोजनामा कैलालीका उद्दमी सूर्यबहादुर थापासहित स्थानीय केही व्यवसायीको पनि लगानी छ ।

प्रतिक्रिया दिनुहोस्