• Menu

रसुवाको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो, सुरक्षाका लागि प्रहरीले बढायो गस्ती

नेपाल प्रफिट

२०८१ वैशाख २, आइतबार १४:१९

रसुवाको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो, सुरक्षाका लागि प्रहरीले बढायो गस्ती

रसुवा । रसुवाको लाङटाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको संख्या बढेको छ । प्रत्येक वर्ष गंगा दशहरा र जनैपूर्णिमा पर्वमा मात्र गोसाइँकुण्डको दर्शनार्थ पुग्ने भक्तजन बाह्रैमहिना आउजाउ गर्न थालका हुन् ।

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा स्नान तथा पूजाआराधना गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । वार्षिक २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गर्छन् ।

बढ्दो तापक्रमसँगै कुण्डमा जमेको हिउँ पग्लिन थालेपछि स्नानका लागि आउने भक्तजनको संख्या बढेको हो । हाल दैनिक ३०-४० जना भक्तजन कुण्डमा स्नान गर्न पुगेको रसुवा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए ।

यसैगरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्ग क्षेत्रमा दैनिक २५-३० जना स्वदेशी तथा विदेशी पर्यटक पुग्न थालेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर नीतेन्द्र सिंहका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको आधार क्षेत्रमा भर्खरै सुरु भएको पर्यटकीय मौसममा आठ हजार ६८१ आन्तरिक तथा बाह्य पर्यटक पुगिसकेका छन् ।

तीमध्ये ६ हजार ५२७ जना सार्कबाहेकका मुलुकका विदेशी पर्यटक हुन् । २३९ पर्यटक सार्क राष्ट्रका छन् । पर्यटकबाट दुई करोड ९९ लाख ९६ हजार आठ सय ५४ प्रवेश शुल्कबापत संकलन गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जले स्वदेशीलाई एक सय र सार्क राष्ट्रका नागरिकलाई एक हजार पाँच सय प्रवेश शुल्क लिने गरेको छ । अन्य देशका पर्यटकलाई तीन हजार प्रवेश शुल्क लिइन्छ ।

लाङटाङ जाने रुटमा पर्ने धुञ्चे, ठूलोभार्खु, ब्रावल, ठूलोस्याफ्रु, पहिरो, बम्बु, स्याफ्रुबेँसी, खाम्जीम, शेर्पागाउँ रिम्चे, लामाहोटल, घोडा तबेला, लाङटाङ मुण्डू हुँदै क्याङ्जेनसम्म सयौँ होटल तथा लज छन् ।

पर्यटक तथा भक्तजनको आगमन बढेसँगै पैदलमार्गमा सुरक्षाका लागि गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पदयात्रा गर्ने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाका पर्ने भएकाले यस क्षेत्रमा जनावर पशुपन्छीलाई नचलाउन र फोहोर नगर्न पर्यटकलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्