काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको जनाएको छ । मध्याह्नपछि हावाहुरीको सम्भावना रहेकाले ती भूभागका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकोले हुरीबतासको सम्भावना देखिएको हो । विभागका अनुसार देशका बाँकी भागमा भने मौसम सफा रहनेछ ।
आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, आइतबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।