काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित परिणाम आउन नसकेको बताए । ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन्, कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन, त्यसैले यसलाई परिणाममुखी बनाउन ढाँचा परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।
मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । ‘भनिन्छ डाक्टरको व्यवहारले बिरामीको आधा रोग निको हुन्छ, त्यसैगरी तपाईंहरुको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस्, ऊर्जा मिलोस्,’उनले भने ।
कार्यक्रममा श्रमसचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफ्नो जिम्मेवारी पूरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गरे । ‘तपाईंहरु जनतालाई सेवा गर्न पाउने जस्तो पवित्र कार्यमा सहभागी हुन पाउनुभएको छ, यो अवसरलाई भरपुर प्रयोग गर्नुहोला,’ उनले भने ।
कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पञ्चमाया योन्जनले श्रम मन्त्रालयले प्रदान गरेको चार दिने कार्यक्रमले उत्साह थपेको बताइन् । तालिमपछि कार्यक्रमप्रति अपनत्व महसुस भएको उनको भनाइ छ ।
त्यस्तै, थाहा नगरपालिका मकवानपुरका रोजगार संयोजक कुमार नेगीले तालिमले काम गर्न थप ऊर्जा मिलेको बताए । मन्त्रालयले आयोजना गरेको क्षमता अभिवृद्धि तालिममा ९ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १४२ जनाको सहभागिता थियो ।