काठमाडौं । खराब कर्जा बढेका कारण आम्दानीको ठूलो रकम प्रोभिजनिङ गर्नु परेपछि वाणिज्य बैंकहरुको खुद नाफा प्रभावित भएको छ । खराब कर्जा ३.४ प्रतिशतभन्दा माथि पुगेपछि ठूलो रकम प्रोभिजनिङमा छुट्याउनु परेपछि बैंकहरुको नाफा कम देखिएको हो ।
वाणिज्य बैंकहरूले चालु आवमा सम्भावित कर्जा नोक्सानीका लागि ४८ अर्ब ५५ करोड प्रोभिजन गरेका छन् । गत आव सम्भावित कर्जा नोक्सानीका लागि वाणिज्य बैंकहरुले ३० अर्ब ९९ करोड रुपैयाँ प्रोभिजन गरेका थिए ।
आर्थिक मन्दीका कारण कर्जाको माग हुन नसक्दा दबाबमा परेका बैंकहरु घट्दो नाफाको तथ्यांकले थप दबाबमा पर्ने देखिएको छ । कर्जा प्रवाह वृद्धिदर चालु आवको चैतसम्ममा ४ प्रतिशत हाराहारीमात्र छ । कर्जाको माग नभएपछि बैंकहरुको सीडी रेसियो पनि प्रतिशतमा झरेको छ ।
व्यवसाय संकुचित हुँदा चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँबराबर मात्र नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरुले साउनदेखि फागुनसम्ममा उक्त नाफा कमाएका हुन् ।
नाफाको रकम गत वर्षको सोही अवधिको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष सोही अवधिमा बैंकहरुले ४८ अर्ब ८३ करोड नाफा कमाएका थिए ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ८ महिनामा ४ अर्ब ७२ करोड नाफा कमाएको छ । दोस्रोमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ४३ करोड नाफा कमाएको छ भने प्राइम कमार्सियल बैंकले २ अर्ब ८८ करोड आर्जन गरेको छ ।
अन्तिममा रहेको नेपाल एसबीआई बैंकले ८ महिनामा १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
