काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौंमा आयोजना गरेको ‘श्रम बजार, आप्रवास र चुनौतीहरु’ विषयक अन्तर्क्रियामा मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।
रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ ।’
त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय सधैं तयार रहेको उनले स्पष्ट पारे । आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिममा पनि जोड दिएको बताए ।
‘मन्त्रालयअन्तर्गत भैंसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ, जहाँ हामीले ६ महिनाभन्दा कम अवधिको भोकेसनल तालिम प्रदान गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘त्यस्तै शिक्षा मन्त्रालयअन्तर्गत रहेको सीटीईभीटीसँग पनि समन्वय गरी हरेकलाई सीप सिकाउनुपर्छ भन्नेमा हामी छौं ।’
आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेरमात्रै जानुपर्ने अवस्थाको सिर्जना गर्ने कार्यमा बहस चलाउन उनले सबैलाई आग्रह गरे ।