• Menu

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : अर्थमन्त्री

नेपाल प्रफिट

२०८० चैत २७, १४:३७

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले आर्थिक शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको बताए ।

गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरु भइरहेको जानकारी गराउँदै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे । आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए । मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको जनाए ।

आन्तरिक र विकास साझेदारको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए ।

नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको उनको भनाइ छ । १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्यांक उनले प्रस्तुत गरे ।

पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र थुप्रै उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए । ती सडकहरुको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास अर्थमन्त्रीले व्यक्त गरे ।

महानिर्देशक कोनेसीले एडीबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै उनले वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा एडीबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने जानकारी गराए ।