काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम)का प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए ।
लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनहरु संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्नमात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागि समेत भएको मन्त्री पुनको भनाइ छ ।
मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक स्रोत परिचालनमात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिए । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे ।
‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो,’ उनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’
लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।
‘कमरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभएको समयमा लिएको नीतिका कारण आज हाइड्रोपावरमा हामीले धेरै प्रगति गरेका छौं । १० हजार मेगावाट विद्युत भारतमा निकासीको वातावरण बनेको छ,’ उनले भने, ‘यस्तै सिमेन्ट उद्योगका लागि सडक र बिजुलीको व्यवस्था सरकारले गरिदिएका कारण सिमेन्ट निर्यातको वातावरण बनेको छ । यो सबै नीतिगत निरन्तरताका कारण भएको हो ।’
फरक प्रसंगमा उनले नेपालले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको र सरकारले त्यसबारे सोचिरहेको बताए । ‘हाम्रो जस्तो भू–परिवेष्ठित मुलुकका लागि अन्य उत्पादनको बाह्य बजार खोज्नुभन्दा सजिलो आईटी प्रोडक्टको उत्पादनको बजार खोज्न हुन्छ,’ अर्थमन्त्रीले भने, ‘आईटी सेक्टरको प्रवर्धनका लागि नीतिगत निरन्तरता हुने गरी काम गर्छौं ।’
अध्यक्ष निर्मलकाजी श्रेष्ठको नेतृत्वमा आएको एमच्यामको प्रतिनिधि मण्डलका सदस्यले अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव दिएको छ ।