• Menu

वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा, वेदका बारेमा यस्तो छ धारणा

नेपाल प्रफिट

२०८० चैत २६, १५:०६

वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा, वेदका बारेमा यस्तो छ धारणा

काठमाडौँ । वेद र विज्ञानका ज्ञान अनुभवका आधारमा आधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।

क्याडेनियन वैदिक हेरिटेज क्यानाडाद्वारा राजधानीमा आइतबार आयोजित वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामी डा. केशवानन्दले वेदमा भएका विज्ञानका गहन विषयवस्तुलाई अहिलेका पुस्ताले मनन् गर्नुपर्ने बताए । उनले वेद र विज्ञानले एकले अर्कोलाई बहिष्कार नगरी आपसमा सामञ्जस्यको खोजी गर्नुपर्ने धारणा राखे ।

विश्लेषक अरुण सुवेदीले उपनिषद पढ्दा आफूलाई केमेस्ट्री पढेजस्तो लागेको र आजका आधुनिक विज्ञानका पुस्तकमा पढिएका कुरा सात हजार वर्षअघि हाम्रै ग्रन्थहरुमा रहेछन् भन्ने थाहा पाउँदा गौरव लागेको उल्लेख गरे ।

लेखक सौरभ सत्यालले समाज नै वेदको अवधारणमा सञ्चालित भएकाले यसलाई संस्थागत ज्ञान र अभिलेखमा राख्ने प्रणाली पुनःस्थापित गर्नुपर्नेमा बताए ।

वरिष्ठ पत्रकार युवराज घिमिरे भारतमा पत्रकारिता गर्दा सति प्रथाबारे बुझ्न खोज्दा वेद र उपनिषद् पढेको र वेदमा अहिलेका विश्वविद्यालयमा पाइने ज्ञान नै रहेको आफूले पाएको बताए  ।

अर्थवेदाचार्य नारायण घिमिरेले गुरुकुल पद्धतिको संरचना भत्काएर आधुनिक विज्ञानको संरचनामा समाज गएको स्थितिमा अब आधुनिक विज्ञानका कमी कमजोरीलाई वेदको ज्ञानबाट पूर्ति गरी अघि बढ्नुपर्ने विचार राखे ।

सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, क्यानडा, जर्मनी र भारतबाट आएका प्रतिनिधिको सहभागिता थियो ।