• Menu

कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

नेपाल प्रफिट

२०८० चैत २५, आइतबार २३:२०

कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीले बताएका छन् । स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बिमा’ आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बिमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे ।
उनीहरुले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको यस कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए ।  कार्यक्रममा डा. शंकरप्रसाद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बिमा गर्न आग्रह गरे ।
बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले  मुलुकभरि  गत वर्ष १६ अर्ब र चालु वर्षको आठ महिनाको अवधिमा चारपटक गरी ८ अर्ब सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए । कार्यक्रममा  स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।
सोही अवसरमा  विराटनगर–३ का उत्कृष्ट बिमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कुल बिमित परिवार संख्या चार लाख ४४ हजार नौ सय ११, बिमित जनसंख्या २३ लाख नौ हजार आठ सय ५५ जना (४७ प्रतिशत), सेवा लिनेको बिमितको संख्या ११ लाख तीन हजार चार सय ३४ जना (४८ प्रतिशत) र  नवीकरण गर्ने बिमितको संख्या ७७.२९ प्रतिशत रहेको बोर्डद्वारा उपलब्ध तथ्यांकमा उल्लेख छ ।
प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक चार र निजी २२ गरी एक सय ६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार चार सय ५३ जना (२२.५४ प्रतिशत) नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् । बोर्डले लक्षित वर्गबाहेक स्वास्थ्य बिमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्