• Menu

हातहातमा बैंक

आठ महिनामा २४ लाख थपिए मोबाइल बैंकिङ प्रयोगकर्ता, एकै महिनामा झन्डै ३ खर्ब भुक्तानी

नेपाल प्रफिट

२०८० चैत २५, १३:२९

आठ महिनामा २४ लाख थपिए मोबाइल बैंकिङ प्रयोगकर्ता, एकै महिनामा झन्डै ३ खर्ब भुक्तानी

काठमाडौं । बैंकिङ सेवाको डिजिटाइजेसन तीव्र देखिएको छ । इन्टरनेटको पहुँच सहज बन्दै जाँदा मोबाइल बैंकिङको प्रयोगमा उच्च आकर्षण देखिएको हो । यसले अधिकांश नेपालीको ‘हातहातमा बैंक’ छ भन्दा फरक नपर्ने स्थिति सिर्जना गरेको छ ।

सहज भुक्तानी सेवाका कारण सेवाग्राहीका लागि मोबाइल बैंकिङ निकै लोकप्रिय औजार बनिरहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले स्पष्ट गरेको छ । तथ्यांकअनुसार एकै महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख ७७ हजारभन्दा धेरै बढेको छ ।

माघसम्म २ करोड ३५ लाख ६ हजार २८ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या फागुनमा २ लाख ७७ हजार ३६१ ले बढेर २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ ।

आठ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा निकै ठूलो वृद्धि देखिएको छ । २०८० असार मसान्तसम्म यो संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो । आठ महिनामा २४ लाख १९ हजार ४ सयले बढेको छ ।

मोबाइल बैंकिङमार्फत फागुनमा मात्र ३ करोड २४ लाख ६२ हजार पटक कारोबार भएको छ भने २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी भएको छ ।

माघमा ३ करोड ३८ लाख ५२ हजार पटक कारोबार हुँदा २ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँबराबरको भुक्तानी भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ ।

त्यस्तै आईएमई पे, ईसेवा, खल्तीलगायतका वालेटबाट पनि ठूलो परिमाणमा भुक्तानी भएको छ । वालेटबाट फागुनमा मात्रै २ करोड २४ लाखपटक कारोबार भएको छ भने २४ अर्ब रुपैयाँबराबरको भुक्तानी भएको छ ।