पोखरा । एक महिनामा ३० हजार १९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६६८ र अन्य देशका १५ हजार ५३१ पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा. रविन कडरियाले बताए ।
‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको संख्या अझ बढ्छ,’ उनले भने, ‘असोज-कात्तिक र चैत-वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।’ यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले जानकारी दिए ।
अघिल्लो वर्ष १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । यो संख्या हालसम्मकै बढी भएको उनले बताए ।
त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार १०५ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार ७३३ पर्यटक आएका थिए ।
यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताए । ‘पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप-अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ,’ उनले भने ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।