काठमाडौं । कृषि उत्पादन र पर्यटक आगमनमा भएको वृद्धिले अर्थतन्त्रलाई टेवा पुर्याएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक वृद्धि गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशत बढी हुने देखिएको हो ।
अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक भएको कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै २९.३ प्रतिशत छ भने विद्युत तथा ग्याँस क्षेत्रको वृद्धिदर १७.१ प्रतिशत छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयले गरेको छ ।