• Menu

अर्थमन्त्रीसँग महासंघ अध्यक्षले भने- स्वदेशी लगानीकर्तालाई सम्मान गर्नुपर्छ, व्यवसायीको मनोबल बढाउनुपर्छ

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने अर्थमन्त्री पुनको प्रतिबद्धता

नेपाल प्रफिट

२०८० चैत २०, १७:५७

अर्थमन्त्रीसँग महासंघ अध्यक्षले भने- स्वदेशी लगानीकर्तालाई सम्मान गर्नुपर्छ, व्यवसायीको मनोबल बढाउनुपर्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटका क्रममा अर्थमन्त्री पुनले व्यवसायीलाई दुःख नदिने प्रतिबद्धता जनाएका हुन् ।

भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसायमात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने धारणा राखे ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनसँग आग्रह गरे ।

‘अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको छ,’ उनले भने, ‘लगानी सम्मेलन चाँडै नै हुन गइरहेकाले स्वदेशी लगानीकर्तालाई सम्मान गर्नुपर्ने र सरकारले व्यवसायीको मनोबल बढाउनुपर्छ ।’

अर्थमन्त्री पुनले महासंघले उठाएका विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधैं तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने पनि आश्वासन दिए ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए । उनले सरकारको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको स्पष्ट पारे ।