काठमाडौं । वैशाखमा हुने लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डल सहभागी हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनलाई भेट्न सोमबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यसबारे जानकारी गराएका हुन् ।
लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ छ । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ ।
भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भयो । अर्थमन्त्रीले लगानी सम्मेलनको राम्रो तयारी भएकाले लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताए ।
‘सम्माननीय प्रधानमन्त्रीले हामी मन्त्रीहरुलाई मन्त्रिपरिषद बैठकमै सबै खाले तयारी गर्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौं ।’
नेपालले लगानी वातावरण सुधारका लागि कन्ट्री रेटिङको काम अघि बढाएको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्यांकन गरिरहेको छ ।
बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
मन्त्री पुनले संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को सम्भावित कालोसूचीमा पर्ने सम्भावना टारेको जानकारी पनि राजदूत थम्प्सनलाई गराए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न १९ वटा कानुनका व्यवस्था संशोधन गरिएको उक्त विधेयक हाल राष्ट्रपतिमार्फत प्रमाणीकरणको चरणमा छ ।