काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको हो ।
समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेकाले स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेस गर्न निर्देशन दिए ।
‘न्यारोबडी जहाजको इन्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना छ,’ उनले भने, ‘निगमले समितिलाई विश्वास दिलाउनुपर्छ, यसमा भ्रष्टाचार भएको होइन, यी कारणले विलम्ब भएको भनी विस्तृत र ठोस रुपमा जवाफ दिनुपर्यो ।’
सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्नेगरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएकाले अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताए ।
मंसिर १५ देखि ग्राउन्डेड भएको निगमको न्यारोबडी जहाज पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो । जहाज मर्मतपछि वैशाख १५ भित्र काठमाडौँ आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ ।
सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताए । ‘उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ,’ उनले भने, ‘न्यारोबडी जहाससम्बन्धी सम्झौताको बेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुपर्यो, होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ ।’
बैठकमा सांसदहरुले निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गरे । सांसदहरुले निगमबारे अध्ययन गर्न छुट्टै समिति बनाएर जानुपर्ने सुझाव दिए ।
सांसदहरु भीमप्रसाद आचार्य, सुनिता बराल, शिशिर खनाल, दामोदर पौडेल बैरागी, उदयशमशेर जबरा, भीमप्रसाद आचार्य, प्रेम सुवाल, एकनाथ ढकाल, योगेश गौचन थकाली, डा. धवलशमशेर जबरालगायतले निगमको पुनःसंरचनाका लागि कार्ययोजना बनाउन, निगमभित्र भइरहेको अनियमितता रोक्न र निगमको उडान सेवालाई चुस्त र प्रभावकारी बनाउन निगमलाई आग्रह गरे ।
सभापति यादवले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भइरहेको विवादले मुलुकको हवाई उडान र समग्र पर्यटन उद्योगलाई नकारात्मक असर पर्ने भन्दै युरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउन र निगमको उडान सेवालाई भरपर्दो, विश्वसनीय र प्रभावकारी बनाउन दुवै संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको औँल्याए ।
निगमको जहाजमा बारम्बार समस्या आउने गरेको र उडान रद्द हुनेजस्ता विषय बाहिर आइरहेको भन्दै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन उनले निर्देशन दिए ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालयमातहतका निकायबारे आफूले अध्ययन गरिरहेको भन्दै सम्बन्धित निकायमाथि उठेका विषयमा कुनै बदमासी भएको भए आवश्यक निर्णय लिइने प्रतिबद्धता जनाए ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले न्यारोबडी जहाज मर्मत नियमपूर्वक गरिएको जिकिर गरे । समितिले निगमको अवस्थाबारे पर्यटन मन्त्रालयका सचिव र निगमका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।