काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको छ । विभागले १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ रुपैयाँ रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै कोटिभिटीविरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरेको हो ।
कोटिभिटीले आफ्नो सेयर स्वामित्वमा भएको परिवर्तनका विषयमा जानकारी नदिई ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ राजस्व चुहावट गरेको विभागको अभियोग पत्रमा उल्लेख छ । कानुनअनुसार उक्त रकमको दोब्बर हुने १० अर्ब ३६ करोड सजाय माग दाबी गरी उच्च अदालतमा मुद्दा दायर गरेको अनुसन्धान अधिकृत एवं विभागका उपसचिव केदार कोइरालाले जानकारी दिए ।
सेयरधनी दर्ता किताबमा भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज प्रालिको नाममा २०७१ पुस ६ मा डिटु हकाई इंक, २०७१ चैत १३ मा भेरिस्क हेल्थ इंक, २०७२ असार ४ मा भेरिस्क हेल्थ इंक (सेयर वृद्धि), भर्सेन्ड टेक्नोलोजिज प्रालिका नाममा २०७५ जेठ ३० मा भर्सेन्ड टेक्नोलोजिज इंक र कोटिभिटी नेपाल प्रालिको नाममा २०७६ भदौ २६ मा कोटिभिटी इंक उल्लेख भएको विभागले जनाएको छ ।
विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कोटिभिटीले सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार मध्यम स्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारअन्तर्गतका निकायमा जानकारी नदिई कानुनबमोजिम तिर्नु बुझाउनुपर्ने आयकर ऐन २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिमको कर दाखिला नगरेको आरोप पत्रमा उल्लेख छ ।
कम्पनीले प्रचलित कानुनबमोजिमको कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को (क) र (च) बमोजिमको कसुर गरेको पुष्टि भएको कोइरालाले बताए ।
विभागले एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्राको सजाय मागदाबी गरी अभियोग दायर गरेको यो पहिलो घटना हो । कोटिभिटी नेपाल प्रालि कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी हो ।