• Menu

एमडीएमएस प्रकरणमा प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ९२ करोड बिगो मागदाबी

नेपाल प्रफिट

२०८० चैत १५, बिहीबार २१:०२

एमडीएमएस प्रकरणमा प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ९२ करोड बिगो मागदाबी

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका क्रममा भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जना व्यक्ति र दुईवटा कम्पनीविरुद्ध मुद्दा दायर भएको छ ।

एमडीएमएस (भन्सार छलेर नेपालमा ल्याइने मोबाइल सेटलाई निष्क्रिय बनाउने उपकरण) खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मुद्दा दायर भएकामा तत्कालीन वरिष्ठ निर्देशक आनन्दराज खनाल, तत्कालीन निर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य र उपनिर्देशक सुरेन्द्रलाल हाडा छन् ।

यस्तै अख्तियारले उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशकहरु सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुसँग एमडीएमएस प्रणाली खरिद गर्दा ठेक्का सम्झौता भएको रकमबराबर ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यस्तै एमडीएमएस प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैयाँ जरिवाना असुल गर्न पनि माग गरिएको छ ।

प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाको पालामा एमडीएमएस प्रणाली खरिद प्रक्रिया सुरू भएको थियो भने उनीपछिका अध्यक्ष पुरुषोत्तम खनालको पालामा काम अघि बढेको थियो । तर, २०७५ असोजमा ठेक्का स्वीकृत भएर ६ महिनाभित्र सम्पन्न गर्ने भनेको काम अहिलेसम्म पनि सकिएको छैन ।

अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्युमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर र ओएसआई डिजिटल इन्डियाविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

न्युमेराका अध्यक्ष मोहम्मद नुर अमिन विन मोहम्मद नुर खान, वार्तामा संलग्न मोहम्मद शिहाव विन कुन्ही मोहम्मद, चिफ अपरेसन अफिसर अनुज सिंह, प्रडक्ट स्पेसलिस्ट जमिल अमिदविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै नमस्ते ग्लोबल प्रालिका निर्देशक कविन्द्रराज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले सामान खरिदका कागजात गायब पारेको आरोपमा चार जनामाथि अर्को मुद्दा पनि लगाएको छ । कागजात गायब पारेको आरोपमा अख्तियारले अच्युतानन्द मिश्र, सूर्यप्रसाद लामिछाने, सन्दीप अधिकारी र विजयकुमार राय यादवमाथि मुद्दा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्