• Menu

कुण्ठा र निरासा चिरेर आशा जगाउनुछ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८० चैत १५, १५:०९

कुण्ठा र निरासा चिरेर आशा जगाउनुछ : प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।

सिंहदरबार बिहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा उनले विकास निर्माणका आयोजना पूरा हुँदैनन् भन्ने निरासा तोड्नुपर्ने बताए ।

‘विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ,’ उनले भने ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा संशोधन गरेर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयावधि परिवर्तन गरेको जानकारी उनले दिए । प्रधानमन्त्रीले यसबाट नीति तथा कार्यक्रममा प्रयाप्त छलफल गर्ने समय हुने र सोही आधारमा बजेट प्रस्ताव गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढ र सबलीकरणका लागि तीन तहका सरकारको बीचमा प्रभावकारी समन्वय कायम गर्न संविधानमा उल्लिखित एकल तथा साझा अधिकारका विषयमा नेपाल सरकारको कार्यविस्तृतिकरण प्रतिवेदनलाई परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले तीन तहको समन्वयका लागि विद्यमान संवैधानिक र कानुनी संरचना तथा संयन्त्रको सबलीकरण गर्दै प्रभावकारी परिचालनमा विशेष ध्यान दिन निर्देशन दिए ।