• Menu

नेप्सेमा बैंक वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ८ प्रतिशत घट्यो, यस्तो छ कारण

नेपाल प्रफिट

२०८० चैत १४, बुधबार १३:१८

नेप्सेमा बैंक वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ८ प्रतिशत घट्यो, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक वित्तीय संस्थाको वर्चस्व घट्दै गएको छ । बैंक समूहका कम्पनीको सेयर मूल्यमा आएको गिरावट र जलविद्युत समूहका कम्पनीको संख्यामा आएको उच्च वृद्धिले वित्तीय संस्था समूहको वर्चस्व घटेको हो ।

नेप्सेमा एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघसम्म बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ६५.८ प्रतिशत रहेकोमा चालु आवको माघसम्ममा ५७.३ प्रतिशतमा झरेको छ ।

बैंक वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा समीक्षा अवधिमा २० खर्ब १४ अर्ब ४२ करोड रुपैयाँबाट १८ खर्ब ९२ अर्ब ७० करोडमा झरेको छ । यो अवधिमा वाणिज्य बैंक समूहको बजार पुँजीकरण सबैभन्दा धेरै घटेको छ । वाणिज्य बैंक समूहको बजार पुँजीकरण १० खर्ब ६३ अर्ब ११ करोडबाट ८ खर्ब ७६ अर्ब २५ करोड रुपैयाँमा झरेको छ ।

जलविद्युत समूहको बजार पुँजीकरण भने बढेको छ । यो समूहको बजार पुँजीकरण एक वर्षमा ३ खर्ब ९६ अर्ब २९ करोडबाट बढेर ५ खर्ब २५ अर्ब ६२ करोड पुगेको छ । त्यस्तै लगानी समूहको बजार पुँजीकरण पनि २ खर्ब ४ अर्ब ४० करोडबाट बढेर २ खर्ब ५१ अर्ब ३३ करोड पुगेको छ ।

एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत म्युचुअल फन्डबाहेक १२ उपसमूहमध्ये १० वटा उपसमूहको बजार पुँजीकरण बढेको छ भने दुईवटाको घटेको छ । बैंक र लघुवित्त समूहको बजार पुँजीकरण घटेको हो । समीक्षा अवधिमा कुल बजार पुँजीकरण ७.९ प्रतिशतले घटेको छ ।

मर्जरका कारण बैंक तथा वित्तीय संस्थाको संख्या यो अवधिमा १४६ बाट १३४ मा झरेको छ । नेप्सेमा सूचीकृत बाँक उपसमूहमा रहेका कम्पनीको संख्या यो अवधिमा १०० बाट बढेर १३७ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीको संख्या यो अवधिमा बढेर २४६ बाट २७१ पुगेको छ ।

नेप्सेमा सबैभन्दा धेरै जलविद्युत समूहका कम्पनी थपिएका छन् । एक वर्षमा जलविद्युत समूहका कम्पनी ६३ बाट ९१ पुगेको नेप्सेले जनाएको छ ।

बैंक समूहका ११ कम्पनीको सेयर मूल्य घटेर अहिले प्रतिकित्ता २०० रुपैयाँभन्दा तल झरेको छ । यो समूहमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मूल्य प्रतिकित्ता सबैभन्दा धेरै ५२२ रुपैयाँ (बुधबार) छ ।

प्रतिक्रिया दिनुहोस्