काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरेका छन् ।
ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा छलफल भएको छ ।
महासंघ अध्यक्ष ढकालले कतारले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए ।
भेटमा महासंघ र कतार चेम्बरबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनामा पनि छलफल पनि भएको छ । संयुक्त व्यापार परिषदले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एक–अर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लाटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, राजदूत अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरेका छन् । उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए ।
महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरहरूको विषयमा वार्ता जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।