काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुडगाँवस्थित मेदान्त द-मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।
बैंकका कार्डबाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।
हरियाणाको गुडगाँवस्थित अस्पतालमा भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।
अहिले पनि बैंकका ग्राहकले सो अस्पतालबाट सुलभ सेवा लिइरहेको जनाइएको छ । मेदान्त अस्पतालसँग भएको यस किसिमको सहकार्यले भारतमा स्वास्थ्योपचारका लागि जाने बैंकका ग्राहक थप लाभान्वित हुने विश्वास लिइएको छ ।
बैंकले यस्तो किसिमको सेवा विगत ४ वर्षदेखि ग्राहकलाई उपलब्ध गराउँदै आएको जनाएको छ ।
सिटिजन्स बैंकले देशभरका १९० शाखा कार्यालय, १५३ एटीएम काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लाबाट सेवा दिइरहेको बैंकले यसै वर्षभित्र थप ७ वटा शाखा विस्तार गरी ६० जिल्लामा पुग्ने लक्ष्य लिएको जनाएको छ ।