काठमाडौँ । हँसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले ९० टेकेकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उनलाई देख्नेहरु झुकिन्छन् । किनकि उनको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । भन्छिन्, ‘सकुन्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।’
पाटनढोका नजिकै रहेको चौतारा मुनि उनको दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछ्याएर राख्छिन् । बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरमा बोल्दामात्रै सुन्छिन् । उनका केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझ्छन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्छिन्, गणेशमाया ।
दस वर्षभन्दा बढी भयो उनी त्यही चौतारमा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उनकै आँखा अघि बिते । बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार ।
छोराको एक्लो संघर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताउँछिन् । ‘छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पीपल चौतारामुनि छोडिदिन्छ,’ उनी भन्छिन्, ‘दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउँछु ।’
आँखा कमजोर हुनुबाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नुपर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उनले त्यसको आफ्नै उपचार अपनाएकी छन् ।
बाह्रहाते पटुकी कसेर व्यापार गर्न बस्छिन् । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ ।
गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बसेकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उनी आफैँ कलंकी पुगेर होलसेलबाट सामान ल्याउँछिन् । उनको सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् ।
मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौँ आएको सम्झिन्छन् । कुन समय उनलाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघर भएर उनी जिउ पाल्न सन्तानसहित काठमाडौँ पसेकी थिइन् ।
पाटनमा बस्ने उनी एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्छिन् । ‘दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाउ हुन्छ,’ उनी भन्छिन्, ‘हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।’
गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एक–अर्काको अनुहार हेरेर मस्त हाँस्छन् । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला उसै गरी उदास पनि हुन्छन् । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जानेका छन् । मनमाया सुनाउँछन्, ‘खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।’
लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षकी भइन् । छोराछोरीले राम्रै कमाउँछन् । खान–लाउन दुःख छैन । तर, उनी काम नगरी बस्दिनन् । छोराले गाडीको ग्यारेज खोलेका छन् ।
त्यही ग्यारेजको छेउमा उनी नाङ्लोभरि बादम राखेर बेच्छिन् । हरियो मकैको याममा मकै राख्छिन् । त्यति मात्रै होइन, उनी एक्लै हिँडेर कालीमाटी पुग्छिन् समान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानुपरेको छैन धनमायालाई ।
उनका श्रीमान मानसिक रोगले पीडित छन् । उनको स्याहारसमेत गर्न भ्याएकी धनमाया जीवनमा कहिल्यै हरेस खाँदिनन् । बढ्दो महँगीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ ।
बुढाबुढी भएपछि उल्टै स्याहार्नुपर्ने झन्झट उनी सन्तानलाई दिन चाहन्नन् । ‘अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ,’ धनकुमारी भन्छिन्, ‘हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।’
धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुन्छ । बिहानै ४ बजे उनको निद्रा खुल्छ । सबै सुतिरहेको बेला उनी उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्छिन् । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम किनिदिन्छिन् ।
काठमाडौँमा उनलाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागिर गरेर ६० रुपैयाँ तलब पाउँथे । त्यही रुपैयाँमा पूरै घर खर्च चल्थ्यो र बचत पनि हुन्थ्यो ।
अहिले महँगीले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा पनि खान हम्मे हुन्छ । ‘मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ,’ उनी भन्छिन् ।
बूढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरीरमा आलस्य छाउन दिन नहुने मान्यता राख्छिन् । बुढ्यौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायम जरुरी छ ।
उनी बिहानै उठेर अनिवार्य बिहानीको हिँडाइमा जान्छिन् । पूजापाठ गरेर व्यवसायमा सक्रिय हुन्छन् । उनले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गरे । जागिरे जीवनमा हुँदा उनले आफैँले जुत्ता सिउने सीप सिकेका थिएनन् ।
उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाए । सार्की समुदायमा पुर्ख्यौली पेसा जुत्ता सिलाउने काम उनले सिकेको थिएन ।
तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिके । अहिले आफ्नै पसल सञ्चालन गरेर बसेका छन् । ‘सीप महत्वपूर्ण हुने रहेछ,’ उनी भन्छन्, ‘बुढ्यौलीमा काम आएको छ ।’
इन्द्रबहादुर अलि पुराना पुस्ताका हुन् । उनले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनुपर्छ । ग्राहकको मागअनुसारको सामग्री दिन नसक्दा भने उनी अलि चिन्तित हुन्छन् ।
परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने उनी बताउँछन् । ‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन,’ उनी भन्छन्, ‘उमेर ढल्किँदै गए पनि सिक्ने रहर उस्तै छ ।’
भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त भए । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुलेका छन् । जागिर छोडेर घरमै बस्ने मनसाय उनको थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाएका थिए ।
विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आएका छन् ।
यतिबेला उनको अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । ‘अबको शिक्षा शैलीमा व्यावहारिकता जरुरी छ,’ उनी भन्छन्, ‘विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुधार्ने तालिम दिँदै आएको छु ।’
नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे– अब घरमै सुतीसुती खाने होला भनेर । नारायण यो सोचको ठीकविपरीत मत राख्छन् । शरीरले साथ दिँदासम्म कर्म गर्नुपर्छ । उनका छोराबुहारी अस्ट्रेलियामा बस्छन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ ।
नारायाणलाई उनकी आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु हो ।
‘बुढौली उमेर बेकार हुँदैन,’ उनी सुनाउँछन्, ‘त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।’ नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउन सिपालु छन् ।
सक्रियता र व्यस्तताले उमेरबारे सोच्ने फुर्सद नै छैन उनलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्छन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उनी बताउँछन् ।
जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकासपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गरे । बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नुपर्ने र सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उनले एउटा उपाय अपनाएका छन् ।
हरेक महिनाको ८ गते जोरपाटीस्थित चामुण्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरुलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन सुरु गरे ।
‘केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बुढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा,’ उनी भन्छन्, ‘हामी सबै मिलेर त्यो दिन बुढाबूढीको जन्मोत्सव बनाउँछौँ, नाच्छौँ, गाउछौँ र मज्जाले हास्छौँ ।’
श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन र बेसहारा बुढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताए ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १०.२१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको छ । २९ लाख ७७ हजार ३१८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार ४११ महिला छन् भने १४ लाख ४३ हजार ९०७ संख्या पुरुष छन् ।
वृद्धवृद्धाका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुल जनसंख्याको ९.२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ्य र सक्रिय अवस्थाका छन् । उनीहरु सक्रिय भएर परिवारमा र राष्ट्रको टेवामा सहभागी भइरहेका छन् ।
औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यसअनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछन् ।
‘बुढो हुनु भनेको कमजोर हुनुमात्र होइन, भूमिकामा पनि परिवर्तन आउनु हो,’ उनी भन्छन्, ‘जेष्ठ नागरिकलाई रोजगारीको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।’
त्यस्तै, बुढाबुढीले परिवारमा नातिनातिना हुर्काइदिएर, घर रुँघेर, भान्सा सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भए पनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ । उनका अनुसार राज्य र परिवारले ऊर्जावान् ज्येष्ठ नागरिकको सीप र क्षमताको कदर गर्न आवश्यक छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal