• Menu

साउदी अरब र यूएई जाने नेपाली युवाको संख्यामा दोब्बर वृद्धि, मलेसिया किन चार गुणा घट्यो ?

नेपाल प्रफिट

२०८० चैत १२, १०:४४

साउदी अरब र यूएई जाने नेपाली युवाको संख्यामा दोब्बर वृद्धि, मलेसिया किन चार गुणा घट्यो ?

काठमाडौं । रोजगारीका लागि साउदी अरब र यूएई जाने नेपाली युवाको संख्या दोब्बर बढ्दा मलेसिया जाने युवाको संख्या करिब चार गुणाले घटेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा मलेसिया जाने युवाको संख्या ४२ हजार ९२५ छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३.७ गुणा कम हो । गत आवको सोही अवधिमा १ लाख ५९ हजार ८८ जना युवा कामका लागि मलेसिया गएका थिए ।

जबकि, साउनदेखि माघसम्मकै अवधिमा साउदी अरब र यूएई जाने नेपाली युवाको संख्या ह्वात्तै बढेको छ ।

यो अवधिमा गत वर्ष २९ हजार २०७ युवा यूएई गएकोमा यो वर्ष ६७ हजार १४७ युवा गएका छन् । त्यस्तै गत वर्षको सात महिनामा २८ हजार ७१५ युवा साउदी अरब पुगेकोमा यो वर्षको सात महिनामा ४० हजार ८९९ युवा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सर्वाधिक युवा बिदेसिने मुलुकमध्येको कतारमा २५ हजार २३९ र कुवेतमा १७ हजार ६९२ युवा ७ महिनामा पुगेका छन् ।

मलेसिया जानेको संख्या किन घट्यो ?

खासगरी कोभिड १९ पछि रोजगारीका लागि मलेसिया जाने युवाको संख्या घट्दै गएको छ । मलेसियाले पाँच–सात महिना अघिदेखि नै आप्रवासी कामदार लिने विषयमा अनुदार नीति लिएकाले नेपाली जाने क्रममा पनि गिरावट आएको हो ।

मलेसियाले विश्व आर्थिक मन्दीमा फसेको भएर नयाँ एप्रुभल नपठाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल बताउँछन् । ‘केही महिनायता मलेसियाबाट एप्रुभल नै निकै कम आएको थियो,’ उनले भने ।

यही बीचमा मलेसियाका हैसियत नभएका कम्पनीले पहुँचका भरमा एप्रुभल निकाले र आप्रवासी कामदार लिए । त्यस्ता कम्पनीमा गएका आप्रवासी कामदारले भनेको समयमा तलब पाएनन् र श्रम क्षेत्र निकै कमजोर भएको आरोप अन्तर्राष्ट्रिय समुदायबाट लाग्यो ।

त्यसले गर्दा मलेसिया सरकारले आप्रवासी कामदार लिन नै रोक लगाउने निर्णय लिएको छ । महासचिव भुर्तेलका अनुसार मलेसियाले पुरानो डिमान्ड क्लोजिङ गर्न भनिरहेको छ ।

‘मार्चभित्र पुरानो डिमान्ड क्लोज गर्ने भनेर आएको छ,’ उनले नेपाल प्रफिटसँग भने, ‘मार्चभित्र एप्रुभल आएको सबै कामदार पठाइ नसके स्वत: रद्द गर्ने भनिएको छ ।’

कामदारमाथि आर्थिक श्रम शोषण भएको आरोप अन्तर्राष्ट्रिय समुदायबाट लागेकाले तत्कालका लागि रोकिएको उनको ठहर छ । ‘औद्योगिक क्षेत्र हो, सधैँ रोक्न सम्भव हुँदैन,’ उनल भने, ‘स्वदेशीबाट मात्र त्यहाँको माग पूरा हुने सम्भावना छैन, आप्रवासन नीति परिवर्तन गर्छ र केही समयपछि खोल्छ ।’

मलेसियाले सरकारले जुन महिनादिख विदेशबाट श्रमिक नलैजाने निर्णय गरिसकेको छ । मलेसियन सरकारले आधिकारिक वक्तव्यमार्फत नै यसबारे औपचारिक  जानकारी गराइसकेको छ ।

मलेसियाका गृहमन्त्री सेरी सैफुद्दिन इस्माइलले आप्रवासी कामदारको आगमनलाई नियमन गर्ने लक्ष्य राखेको बताएका थिए । उनका अनुसार कुल १ करोड ७० लाख श्रमशक्तिमध्ये १५ प्रतिशतमा विदेशी कामदारलाई सीमित गर्ने नीति तर्जुमा गरिएको बताएका हुन् ।

स्वीकृत कोटाभित्र आप्रवासी कामदार ल्याउन भने कम्पनीहरूलाई मे ३१ सम्मको समय दिइएको छ ।

मलेसिया नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक भएकाले बन्द हुँदा नेपालको श्रम बजार प्रभावित हुनेछ । मलेसियामा ५ लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

सात महिनामा विदेश जाने नेपाली युवाको संख्या पनि घटेको छ । गत वर्षको सात महिनामा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर ३ लाख ३ लाख १४ हजार ७६७ युवा रोजगारीका लागि विदेश गएकोमा चालु आवको सोही अवधिमा २ लाख ४७ हजार १२ युवा गएका छन् ।

त्यस्तै पुन: श्रम स्वीकृति लिएर गत वर्षको सात महिनामा १ लाख ६७ हजार ७०८ युवा गएकोमा यो वर्षको सोही अवधिमा १ लाख ५८ हजार ५४० युवा रोजगारीका लागि विदेश गएका छन् ।