काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ । महानगरले चैत २५ देखि गरिबको विवरण संकलन गर्न लागेको हो ।
त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ ।
महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार तालिमबाट प्रशिक्षक बनेका अधिकारीहरुले चैत २० देखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् ।
यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न गत मंसिर १६ गते महानगरले सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
प्राप्त आवेदनबाट योग्यताका आधारमा माघ १४ गते उम्मेदवारहरुको प्रारम्भिक सूची प्रकाशन गरिएको थियो । माघ २१ देखि २४ सम्म महानगरले लिएको अन्तर्वार्ताबाट फागुन १७ गते योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो । जसबाट २१ सुपरीवेक्षक र २०९ गणक छनोट भएका थिए ।
महानगरका अनुसार असार मसान्तभित्र तथ्यांक संकलन गर्ने गरी काम अघि बढाइएको छ । तथ्यांक संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ ।
सरकाले प्रदान गर्दै आएको दीर्घरोगको उपचारका लागि आर्थिक सहयोग, विभिन्न लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने विभिन्न किसिमका सेवा सुविधा पनि यही परिचय पत्रका आधारमा प्रदान हुनेछ ।