• Menu

अब नेता बचाउने होइन, देश बचाउने हो : गृहमन्त्री लामिछाने

नेपाल प्रफिट

२०८० चैत ११, १४:४२

अब नेता बचाउने होइन, देश बचाउने हो : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन् । चितवनको भरतपुरमा आइतबार नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए ।

‘विभिन्न दलसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ,’ उनले भने ।

उनले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताए । ‘अब मान्छे बचाउने होइन, देश बचाउने हो । नेता बचाउने होइन, जनता बचाउने हो,’ उनले भने ।

गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै साना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रंगिन बनोस भनेर शुभकामना दिए ।

उनले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणी रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनको दाबी छ ।