• Menu

नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने कोरियाको प्रतिबद्धता

नेपाल प्रफिट

२०८० चैत ९, शुक्रबार १५:४८

नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने कोरियाको प्रतिबद्धता

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालय शुक्रबार भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिएका छन् ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग  कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको उनले जानकारी दिए ।

पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे । पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट गरेकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको बताए ।

मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गरे । संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उनले उल्लेख गरे ।

‘कोरिया एउटै पुस्ताले बनाएको देश हो, जसले भयावह गरिबीको दुश्चक्रबाट पार पाउँदै आजको उच्चस्तरको समृद्धि उपभोग गरिरहेको छ,’ पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन् ।’

राजदूत थेयङले यसअघिका विकास साझेदारी र कोरिया रोजगारी प्रणाली (ईपीएस) लार्इै निरन्तरता दिने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए ।

कोइकाले नेपाललाई १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए । नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको उल्लेख गरे । हाल गण्डकीमा सञ्चालित कोरियन भोकेसनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ छ ।

नेपालले आगामी सन् २०२६ भित्र सहस्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयतन बढाउन चाहेको जानकारी राजदूतले दिए ।

आगामी मे महिनाबाट नेपालमै हुन्ई  कम्पनीका गाडी उत्पादन हुने भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले आग्रह गरे ।

कोरियाले नेपालमा धेरै धन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सिर्जना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्,’ राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं ।’ नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेन्टी गर्नुपर्नेमा भने उनको चासो थियो ।

राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।