• Menu

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : एमाले अध्यक्ष

नेपाल प्रफिट

२०८० चैत ८, २१:२८

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : एमाले अध्यक्ष

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले ५९औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार उनले राजनीतिका लागि लोकतान्त्रिक गणतन्त्र साधनमात्र रहेको बताए । ‘राजनीतिको गन्तव्य मानव जातिको सुख र समृद्धि हो,’ उनले भने ।

अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राखे । समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उनले बताए ।

उनले मानिस रंग, जात र सम्पत्ति, धर्म वा कुलिनको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच भन्ने नहुने स्पष्ट पारे । उनले सबै मानिस जन्मँदा बराबर जन्मिने र स्वतन्त्र हुने तर्क गरे ।

‘जातका आधारमा, रंगका आधारमा, वर्ण तथा लिंगका आधारमा वा कुनै आधारमा मानिस ठूलो र सानो भन्ने हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्छ तर कोही ठूलो सानो भन्ने हुँदैन । छुत–अछूत भन्ने कुरा हुँदैन ।’

अध्यक्ष ओलीले एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पारे । उनले कम्युनिस्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए ।

उनले नेपाल कम्युनिस्ट पार्टीले दलित समुदायलाई नै संगठित गरेर अघि बढाउँदा जातीय विभेद् अन्त्य गर्न सकिन्छ भनेर २०४५ सालमा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेदविरुद्धको आन्दोलन चलाएको बताए ।

हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उनको भनाइ छ ।