काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि सहयोग गर्न विभिन्न राष्ट्रका राजदूतहरूलाई आग्रह गरेका छन् ।
अवैतनिक कन्सुलर कर्प्स नेपाल- एचसीसीएनद्वारा आयोजित लुम्बिनी कन्क्लेभको अवसरमा लुम्बिनी केबलकार टप स्टेसनमा आयोजित लन्च मिटिङलाई सम्बोधन गर्दै एचसीसीएनका भाइस डिनसमेत रहेका महासंघ अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेकोतर्फ राजदूतहरूको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवर्धन गरिरहेकाले लगानीकर्ता जुटाउन सामूहिक पहल गर्नुपर्ने समय आएको उनले उल्लेख गरे ।
कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसर सिर्जना भएको उनको भनाइ छ ।
भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थलसहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवर्धन गर्नसमेत अध्यक्ष ढकालले लुम्बिनी कन्क्लेभ सहयोगी हुने विश्वास व्यक्त गरे ।
लुम्बिनी केबलकारको सन्दर्भ जोड्दै उनले केवलकारसँगै लक्जरी होटल, क्यासिनो र सात सयभन्दा बढी व्यक्ति अट्ने फराकिलो हलसहितको पर्यटन पूर्वाधारको विकासमा आफूहरुले काम गरिरहेको उदाहरण दिए ।
नेपाल सरकार, लगानी बोर्ड र महासंघसमेतले आयोजना गर्न गइरहेको नेपाल इन्भेस्टमेन्ट समिटलाई लगानीको आकर्षक हबको रूपमा उपयोग गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् ।