काठमाडौं । नेपालको वैदेशिक व्यापारमा आयात-निर्यात हिस्सा १० गुणाको अन्तर छ । चालु आर्थिक वर्षको फागुनसम्ममा १ खर्ब रुपैयाँबराबरको निर्यात हुँदा १० खर्बको आयात भएको हो ।
यद्यपि, आयात-निर्यातबीचको यति ठुलो खाडल पहिलो पटक देखापरेको भने होइन । आव २०६३/६४ मा ५९ अर्बको निर्यात हुँदा २ खर्ब १३ अर्ब रुपैयाँबराबरको आयात भएको थियो । त्यसयता निर्यातभन्दा आयात हिस्सा उच्चदरमा बढेको हो ।
युवाको बढ्दो वैदेशिक पलायनका कारण आन्तरिक कृषि उत्पादनमा समेत ठुलो ह्रास आउँदा आयात थप बढेर गएको छ ।
चालु आवको आयात-निर्यात गत आवको सोही अवधिको तुलनामा भने कम हो । गत आवको फागुनसम्ममा १० खर्ब ५८ अर्बको आयात तथा १ खर्ब ४ अर्बको निर्यात भएको थियो । चालु आवको सोही अवधिमा १० खर्ब ३० अर्बको आयात र १ खर्ब ६१ करोडको निर्यात भएको छ ।
समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २.७८ प्रतिशतले घटेको छ । गत वर्षको फागुनसम्ममा ११ खर्ब ६३ अर्बको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ११ खर्ब ३० अर्ब रुपैयाँको व्यापार भएको भन्सार विभागले जनाएको छ ।
आयात-निर्यात दुवै घट्दा व्यापार घाटा पनि घटेको छ । गत वर्ष ८ महिनामा ९ खर्ब ५३ खर्ब व्यापार घाटा भएकोमा चालु आवको सोही अवधिमा ९ खर्ब २९ अर्ब रुपैयाँबराबर व्यापार घाटा भएको छ ।