काठमाडौं । कोशी प्रदेशमा मंगलबार रातिदेखि नै झरी परेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले नेपालको मौसममा बदलाव आएको हो ।
कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेशमा झरी परेको हो । झापाका कमल अधिकारीले मंगलबार रातिदेखि नै वर्षा भएको जानकारी दिए । उनका अनुसार रातिदेखि नै सिमसिम वर्षा भइरहेको छ ।
लामो समयपछि वर्षा हुँदा किसान खुसी भएका छन् । तरकारी र अन्य बालीनालीमा अकासे पानी राम्रो हुने भएकाले किसान खुसी भएका हुन् । पूर्वमा लामो खडेरीपछि वर्षा भएको हो ।
पानी परेपछि हिउँदे धान रोपेका किसान पनि दंग परेका छन् । झापा सुरूंगाका इन्द्र अधिकारीले मंगलबार धान रोपेको राति नै पानी परेर झन् राम्रो भएको बताए ।
इन्द्र अधिकारीको धानखेत ।
मधेस प्रदेशमा पनि पानी पर्न थालेको छ । महाशाखाका अनुसार मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ ।
बुधबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।